काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै चिज विदेशबाट ल्याउन पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबन्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागद्वारा आइतबार काठमाडौंमा आयोजित ‘सामाजिक रुपान्तरणका लागि तीज समसामयिक विमर्श’ कार्यक्रममा उनले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसकेमात्र अर्थतन्त्र बलियो बन्ने बताए ।
अहिलेको कमाइको मुख्य स्रोत नै श्रम किनबेच भएको उनको भनाइ छ । ‘श्रम बेचेर कमाइ गर्ने र सामान किनेर खर्च गर्ने कुरा स्वाधीनता र सार्वभौमसत्ताका लागि अनुकूल ढाँचा होइन,’ महासचिव पोखरेलले भने, ‘यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको छ ।’
देशभित्रै उत्पादन बढाउने र आन्तरिक उत्पादन नै प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने उनले बताए । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजाकोठामा प्रयोग गर्ने सामान स्वदेशमै उत्पादित हुनुपर्ने धारणा उनले राखे ।