बाँके । बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । भदौ २५ मा सडक निर्माणको सम्झौता सकिँदैछ । निर्माण समयावधि सकिँदा सडक निर्माणको काम भने २० प्रतिशतमात्र भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक हाल खाल्डाखुल्डी भएका कारण पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताए ।
‘सडकभरि खाल्डाखुल्डी भएका कारण वर्षाको पानी भरिएर सडक ठाउँठाउँमा पोखरीजस्तै भएको छ,’ उनले भने, ‘हिउँदमा धुलाम्मे र वर्षायामभरि हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।’
गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ । जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ ।
गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले आवतजावतमा सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका–२ केगाउँ निवासी गेहेन्द्र धितालले बताए ।
‘सम्झौता अवधि सकिन लाग्दा २० प्रतिशतमात्र काम भएको छ । यस्तो गतिमा कहिले सडक बन्ला भन्ने चिन्तामा छौँ,’ धितालले भने, ‘चुनावका बेला समयमा सडक बनाउने प्रतिबद्धता गरेका उम्मेदवार पनि अहिले चुनाव जितेपछि फर्केर आएका छैनन् ।’
खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिक रूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताए । उनले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगन्जमा पुगेर समेत माग गरिएको उल्लेख गरे ।
संघीय सरकारको लगानीमा बन्न लागेको नेपालगन्जको परसपुरबाट खजुरा गाउँपालिकाको गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब १४ करोडमा जेभीले सडक निर्माणको ठेक्का पाए पनि निर्माणकार्य भने सुरुदेखि नै ढिलाइ हुँदै आएको थियो ।
२०७४ सालमा सडकको कालोपत्र निकालेर नयाँ कालोपत्र गर्ने योजना अगाडि सारिएको थियो । तर हालसम्म पनि उक्त सडकको स्तरवृद्धि हुनसकेको छैन ।
सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरु केही प्रगति हुनसकेको छैन । हाल उक्त योजनाको निर्माण प्रगति २० प्रतिशतमात्र रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदीले बताए । निर्माणकार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरे पनि सम्पर्कमा नआउने गरेको इन्जिनियर सुवेदीको भनाइ छ ।
सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ वैशाखदेखि निर्माणकार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । कम्पनीका प्रमुख तुलसीराम भण्डारी भदौ २५ सम्म निर्माण सम्पन्न हुन नसक्ने बताए । अहिले वर्षात्को समय भएकाले कालोपत्र गर्न नसकिने भन्दै केही समय माग गर्ने भण्डारीले बताएका छन् । परसपुर–गौघाट सडक निर्माणमा करिब ८ महिना अझै समय लाग्ने भएकाले सरकारसँग समय माग गर्ने उनको भनाइ छ ।