• Menu

सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले पनि प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री

नेपाल प्रफिट

२०८० मंसिर २२, शुक्रबार २१:०९

सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले पनि प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् ।

‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास लिएको छु,’ सुदूरपश्चिम महोत्सवको शुक्रबार धनगढीमा उद्घाटन गर्दै उनले भने, ‘यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।’

प्रधानमन्त्रीले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्ने बताए । उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न पनि उनले आह्वान गरे ।

‘लगानीका क्षेत्र निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ,’ प्रधानमन्त्रीले भने ।

उनले अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरु सफल भएको बताए । ‘हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यस अर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र  यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ,’ प्रधानमन्त्री दाहालले भने ।

हिजो राजा महाराजाहरुको जमानामा र सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र विभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उनको धारणा छ ।