• Menu

डेढ अर्ब लगानीमा बनेको भरतपुरको महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा

नेपाल प्रफिट

२०८१ भदौ १४, शुक्रबार १४:५८

डेढ अर्ब लगानीमा बनेको भरतपुरको महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले १ अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । संघ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्‍याइएको हो ।

राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८.६ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो ।

महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, संघीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिइन् ।

उनका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वनक्षेत्रमा रुख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा ७ मिटर कालोपत्र गरिएको छ ।

चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत ठाउँठाउँमा जोडेको दाहालले बताइन् । प्रमुख दाहालले भनिन्,’ संघीयताको नमूना परियोजनाका रूपमा हामीले यसलाई लिन सक्छौँ ।’ यो देशकै सबैभन्दा लामो चक्रपथ भएको  बताइन्।

दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताए । काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ ।

यसले पर्यटन प्रवर्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको दाहालको भनाइ छ ।

महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँठाउँमा गरेर ४.१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको बताए । संघीय सरकारको १० करोडको लागतमा बोलपत्र आह्वान भएको हो । यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ ।

महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो । लामाले भने, ‘गाउँगाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ ।’ पश्चिम चितवनमा रहेका ठूला होटल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।