• Menu

चिनियाँ कम्पनीले पायो बहुप्रतिष्ठित भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का

नेपाल प्रफिट

२०८१ भदौ १३, ११:२३

चिनियाँ कम्पनीले पायो बहुप्रतिष्ठित भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का

सुर्खेत । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उप-आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेन्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो ।

आयोजना निर्माणका लागि तीन अर्ब ५० करोड आठ लाख १५ हजार २८० रुपैयाँ लागतमा उक्त कम्पनीसँग सम्झौता भएको छ ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन एकाइ सुर्खेत र झेजियाङ टिम इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल को–अपरेसन निङ्बो चाइना कम्पनीबीच आयोजना निर्माणका लागि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एकाइका तर्फबाट प्रमुख सञ्जीवकुमार साह र कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधि सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले संघीयता अभ्यासको पहिलो नमुना आयोजना भेरी पम्पिङ आयोजना भएको बताए । उनले विश्व बैंकले नेपालको खानेपानीमा लगानी गरेको मेलम्चीपछिको लिफ्टिङ प्रविधिको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएको जानकारी दिए ।

‘सबै क्षेत्र र पक्षलाई एकै ठाउँमा उभिएर यसको निर्माण कार्य सम्पन्न गर्न सहयोग पुर्‍याउन अपिल गर्छु । भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको छ, तीन तहका सरकारको स्वामित्वमा अगाडि बढेको यो परियोजनालाई सबैको सहयोगबाट निर्धारित समयमा सम्पन्न हुने विश्वास छ,’ उनले भने ।

तीन वर्षसम्म पहिलो चरणको काम सक्नेगरी कामको जिम्मा पाएको चिनियाँ कम्पनीले सातवटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको एकाइ प्रमुख साहले बताए । सम्झौताअनुसार निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

आयोजना ६ पालिकामा लागू हुनेछ । कार्यान्वयनको सुरुवात वीरेन्द्रनगर नगरपालिकाबाट हुनेछ । आयोजनाबाट प्रतिसेकेन्ड ५६० मिलिमिटर पानी आउनेछ ।

सुर्खेत उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणि देवकोटाले धरै लामो प्रतीक्षापछि आयोजनाको काम सुरु हुनुले नयाँ आशा पलाएको बताए । अबको तीन वर्षभित्र नगरवासीले स्वच्छ पानी पिउन पाउने उनको विश्वास छ ।

आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनीका प्रतिनिधि श्रेष्ठले तोकिएकै समयमा अयोजना सम्पन्न हुने प्रतिबद्धता जनाएका छन् । आयोजनाका लागि ७० प्रतिशत संघीय सरकार, ३० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट रकम जुटाइनेछ ।

विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको छ, जसअन्तर्गत पहिलो चरणमा तीन अर्बको काम हुनेछ ।

वीरेन्द्रनगरमा ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आकलन गरेर खानेपानी आयोजना बनाइएको हो । भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर-११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्यांकी निर्माण गरिनेछ ।

पहिलो चरणका काममा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, अमृतडाँडाबाट वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछन् ।

दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत-जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार हुँदा तीन अर्ब लागत लाग्ने जनाइएको छ ।