कञ्चनपुर । बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान संचालन गरिएको छ । अभियानअन्र्तगत पहिलो चरणमा चार सय बेलका बिरुवा रोप्न लागिएको हो । स्थानीय युवा गोकर्ण जोशीको अगुवाइमा अभियान संचालन गरिएको हो ।
सार्वजनिक, बाँझो जग्गामा बेलका बिरुवा रोप्ने कार्य भइरहेको अभियानकर्ता जोशीले बताए । ‘बेलको घनाजंगल भएकाले यस ठाउँको नाम बेलडाँडी रहन गएको हो,’ उनले भने, ‘अहिले बेलका रुखहरु देख्नै नपाइने अवस्था आएकाले अभियान संचालन गरी बिरुवा रोप्न थालेका छौँ ।’
बेलडाँडीको पुरानो पहिचान फर्काउनका लागि अभियान संचालन गरिएको भन्दै बिरुवा खरिद गर्न ‘एक किसान एक रुपैयाँ’ संकलन गरिएको जोशीले जानकारी दिए ।
उनका अनुसार रकम संकलन अभियान अन्तरगत हालसम्म २३ हजार रुपैयाँ बढी संकलन भएको छ । हालसम्म ९ हजार ५ सयको बिरुवा खरिद गरिएको उनले बताए ।
बचत रहेको बाँकी रकमबाट दोस्रो चरणमा संकलन हुने बिरुवा रोपण कार्यक्रममा खर्च गरिने अभियानकर्ता जोशीले उल्लेख गरे । गाउँपालिकाका सबै वडामा बेलका बिरुवा रोपिने उनको भनाइ छ । बेल धार्मिक कार्यका साथै औषधिका रुपमा समेत प्रयोग हुँदै आएको छ ।