मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ४ करोड ५० लाख १४ हजार राजस्व संकलन गरेको छ ।
राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार साउनमा उपमहानगरपालिकाले सम्पत्ति करबाट १ करोड ४४ लाख ८५ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १ करोड १८ लाख ७५ हजार रुपैयाँ, घरबहाल करबाट ५० लाख ६५ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार रुपैयाँ, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबाट ५ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यो गत आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो । आव २०८०/८१ को साउनमा ४ करोड ७५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण गत आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए ।
यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगर आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड ७ लाख ६४ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ ।
उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट ७ करोड ३० लाख २८ हजार रुपैयाँ, घरबहाल करबाट ६ करोड १ लाख ६८ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ५ करोड २३ लाख ९ हजार रुपैयाँ, बहाल बिटोरी करबाट २ करोड ४९ लाख ७४ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट ३ करोड ४१ लाख ९६ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट १ करोड ६ लाख ३० हजार रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट ५ लाख ८६ हजार रुपैयाँ, ढुंगागिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत ८६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको सुवेदीले बताए ।