बागलुङ । बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । ढोरपाटन नगरपालिका-९ खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् ।
नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण सुरु गरिएको थियो । आधारभूत अस्पताल निर्माणका लागि २०७८ साल माघ २० मा सम्झौता भएर काम सुरु भएको थियो ।
नगर अस्पताल २०७९ साल असार २४ देखि निर्माण थालिएको थियो । २०८० साल पुसमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए ।
गाउँपालिकाले १० करोड ९४ लाखको लागत अनुमान गरेकामा निर्माण कम्पनीले ८ करोड २४ लाखमा जिम्मा लिएको थियो । पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदैले बताए ।
यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको र अझै एक करोड ७० लाख बजेट अपुग भएको उनको भनाइ छ । निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्ष अगाडि गाउँपालिकाले सात रोपनी दुई आना जग्गा निःशुल्क व्यवस्थापन गरेको थियो ।
अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो । अस्पतालमा बजेट नआउँदा २०८० सालदेखि नै काम ठप्प भएको छ । निर्माण कम्पनीले २०८० साल भदौमा नगरपालिकामा ६ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदैले बताए ।
अस्पातलको भवन निर्माणका लागि १२ करोड ९६ लाखमा जिम्मा लिएको अदैको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेस्की रकम २ करोड ४६ लाख मात्रै आएको उनले बताए ।
भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो तथा अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदैले बताए । २०८२ साल असार २३ सम्ममा निर्माण सक्नुपर्ने अस्पताल भवन करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उनले गरे । अहिले बजेट नै नपरेको उनको भनाइ छ ।
उनले भने, ‘अस्पताल निर्माणको जिम्मा त पायौ तर काम गरेको रकम पाउन सकेनौ, करोडौ रकम अहिलेसम्म पाउन सकिएको छैन, यस वर्ष बजेट पनि नपरेको हुँदा अस्पताल अलपत्र जस्तै भएको छ, पोहोर साल भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौ, निसीखोलाको भुक्तानी पायौँ अब ‘फिनिसिङ’को काम बाँकी थियो, तर बजेट नै आएन, बजेट नभएपछि कसरी काम गर्न सकिन्छ ?’
उपप्रमुख धनबहादुर कायतले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताए । उनले निर्माण कम्पनीलाई काम गरेकै ६ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिति नरहेको बताए ।