महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।
अस्पताललाई सधैँ ‘रेफर’ अस्पतालका रुपमा सुनिँदै आएको र चिकित्सक ‘अनकल’ फोन गरेपछि मात्रै आउने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उनले आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए ।
निरीक्षणको क्रममा ‘इमरजेन्सी’ वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै चिकित्सकको ‘ड्युटी’ सम्बन्धी ‘चार्ट’ नदेखिएको उनले जानकारी दिए ।
अन्य स्वास्थ्यकर्मी पनि न्यून संख्यामा उपस्थित रहेको सिंहले बताए । उनले अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए ।
अस्पतालमा छड्के निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले अबदेखि अस्पतालमा ड्युटीमा रहेका प्रत्येक चिकित्सकले आफ्नो ड्युटी अवधिभर अस्पतालमै बस्न निर्देशन दिएको बताए । उनले अस्पतालमा ड्युटी रहेको बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने जानकारी दिए ।
‘व्यक्तिगत जीवन सबैको हुन्छ, अस्पतालको ड्युटी सकेर चिकित्सकहरु पनि त्यसपछि कही, कतै जान पाउनुहुन्छ,’ सिंहले भने, ‘तर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न कसैलाई छुट छैन ।’
उनले अबदेखि चिकित्सक र स्वास्थ्यकर्मी सबै नियमित उपस्थित हुनुपर्ने, सरसफाइ तथा अस्पतालका सबै क्षेत्रको व्यवस्थापन मापदण्डबमोजिम गरिनुपर्ने र अस्पतालको क्षमताबमोजिम बिरामीको संख्या रहनुपर्नेमा जोड दिए ।