धनुषा । जनकपुरधाम क्षेत्रमा पहिलो पटक जंगलको मज्जा दिने गरी ‘कल्चरल भिलेज’ सञ्चालनमा आएको छ । जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मिथिलेश्वर मौवाहीस्थित ‘कल्चरल भिलेज’ सञ्चालनमा आएको हो ।
जनकपुरधामदेखि उत्तर पूर्व १२ किलोमिटरको दूरीमा रहेको मिथिला विहारी नगरपालिका–२ पुरनदहास्थित भिलेज रहेको छ । जनकपुर–धनुषाधाम सडकखण्डस्थित पक्की सडकमै मिथिलेश्वर चोकदेखि पश्चिम रिसोर्ट खालको कल्चरल भिलेज सञ्चालनमा ल्याइएको सञ्चालक देवनारायण मण्डलले बताए ।
‘जहाँ अतित वर्तमानसँग मिल्छ’ नारासहित सहरमा बसोबास गर्ने व्यक्तिको पुनर्ताजगीका लागि सो कल्चरल भिलेज उत्तम स्थान हुने उनले बताए ।
कल्चरल भिलेजमा ठूला पोखरी, रिसोर्ट, बागवानी, तरकारी, सभाहल, बगैँचासहित राति बास बस्नका लागि फुसकै घरमा उत्तम सुविधा पाइने उनले जानकारी दिए ।
कल्चरल भिलेजमा जाने अतिथिका लागि पोखरीमा आफैँ बल्छीले माछा मारेर आफैँ बनाउन सकिने, ‘क्याम्प फायर’ बालेर पार्टी गर्न सकिने, शाकाहारी र मांसाहारीका लागि अलग–अलग क्याम्पको व्यवस्था गरिएको सञ्चालक मण्डलले बताए ।
यससँगै राति बास बस्ने अतिथिको आग्रहमा झिझिया नाच, झरीलगायतका नाचगान पनि देखाइने मण्डल बताउँछन् । उनका अनुसार कम्तीमा १० जना अतिथि भए नाचगानको व्यवस्था गरिनेछ । त्यसका लागि चारैतर्फ बत्ती जडान गरी नाचगानको बेग्लै स्थल पनि बनाइएको छ ।
बिचमा नाचगान हुने तथा चारैतर्फ अतिथि बसेर सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिने बताइएको छ । कल्चरल भिलेजमा जाने अतिथिका लागि रिसोर्टभित्रै लगाइएको जैविक खेतीको तरकारी, दाल र अन्य परिकार खान पाउने सञ्चालक मण्डलले बताए ।
शाकाहारीका लागि दाल, भात, अचार, पापड, तिलौरी, तिसौरी, बिरियाको तरकारी, कुम्हरौरीको तरकारी, अदौरीको तरकारी, पुदिनाको अचार, धनियाँको चटनीसहित अतिथिको मागका आधारमा खाना तयार गरिनेछ ।
मांसाहारी अतिथिका लागि भने बेग्लै व्यवस्था छ । मण्डलका अनुसार कल्चरल भिलेजभित्रै सम्पूर्ण सामान पनि पाइने भएकाले अतिथिले आफैँ कुनै परिकार बनाउन चाहेमा बनाउन सक्छन् । त्यसबापत अतिथिले सामानको मात्र शुल्क तिर्नुपर्नेछ ।
कल्चरल भिलेजभित्रै झुला, पिङ, म्युजियम पनि सजाउन लागिएको छ । कल्चरल भिलेजमा चिया, कफी, छनकाका लागि माटोका भाँडा प्रयोग हुने उनले बताए ।
उनले बाहिरबाट आउने अतिथिका लागि बैलगाडामा गाउँ घुमाउने रोचक हुने बताए । मण्डलका अनुसार खास व्यावसायिक व्यक्ति र परिवारका लागि उक्त स्थान उत्तम हुनेछ । भित्रै सञ्चालन गरिएको रेष्टुरेन्टमा आफूखुसी परिकार पाइनेछ ।