• Menu

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कृष्ण रिजाललाई

नेपाल प्रफिट

२०८१ भदौ १०, १२:२२

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कृष्ण रिजाललाई

काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार २०८१ नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ । लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार रिजाललार्ई प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवस पारेर २०८१ भदौ २१ गते शुक्रबार प्रदान गर्नेछ । देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । फाउन्डेसनले पहिलो पटक नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई सम्मान गरेको थियो । त्यसयता सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा,  विजयराज खनाल र यज्ञ बञ्जाडेलाई पुरस्कार प्रदान गरिएको छ ।

देशको सर्वाङ्गीण तथा आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सुसूचित गराउन खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यस वर्ष पुरस्कारका लागि छनोट भएका रिजाल एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । नयाँ पत्रिकअघि उनले नेपाल समाचारपत्र दैनिक तथा आर्थिक अभियान दैनिकमा काम गरेका थिए ।