• Menu

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

नेपाल प्रफिट

२०८१ भदौ १०, १२:०१

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

ललितपुर । पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरु क्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं भगवान श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तरतर्फ दर्शनार्थीका लागि लाम बस्ने व्यवस्था मिलाइएको छ । भक्तजनको लाम व्यवस्थापनका लागि नेपाल स्काउट र महानगर प्रहरी परिचालित छन् ।