• Menu

प्रचण्डले कार्यकर्तालाई सुनाए पार्टीलाई २०६४ कै हाराहारीमा पुर्‍याउने सूत्र

'अहिलेको सरकार विचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार'

नेपाल प्रफिट

२०८१ भदौ ९, १५:५६

प्रचण्डले कार्यकर्तालाई सुनाए पार्टीलाई २०६४ कै हाराहारीमा पुर्‍याउने सूत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार विचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको आरोप लगाएका छन् । पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेलामा उनले वर्तमान सरकारलाई भ्रष्टाचारीको संज्ञा दिएका हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र विचौलियाहरुमा आतंक सुरु भएको उनले बताए ।

‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, विचौलिया र कमिसनखोरहरुले ती दललाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन्,’ उनले भने, ‘अहिलेको सरकार विचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’

आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंखघोष गरेको दाबी उनले गरे । ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिँदैन, जनता र राष्ट्रको समृद्धि सम्भव छैन भन्ने तथ्यलाई मनन गरेर नै हामीले भ्रष्टाचारीमाथि कारबाही अभियान सुरु गरेका थियौं,’ उनले भने ।

चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फी रुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा भएको उनले बताए ।

‘सरकारबाट बाहिरिँदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरु कयौं काण्डका फाइलहरु खोलेर फर्केका छौं,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’

आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गर्दै उनले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरुलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी गरे ।

जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाई बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको घटनाले स्पष्ट गर्ने उनको भनाइ छ । ‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुई तिहाइ थियो, तपाईंहरुले जनयुद्ध रोक्न सक्नुभयो ?’ उनले प्रश्न गरे ।

अहिले नेपाली जनताले प्राप्त गरेको अधिकार पनि दुई तिहाइवालका कारण नभएर माओवादीकै कारण भएको उनले बताए । ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेँटी कसेर लोकतन्त्र पुन:स्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जान तयारी छौं, जान्छौं,’ उनले भने ।

२०६४ कै हाराहारीमा हैसियत प्राप्त गर्ने वातावरण बन्दैछ’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताएका छन् । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताए ।

अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्‍याउने सूत्र पनि कार्यकर्तालाई सुनाए । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्‍यौं अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने छौं,’ उनले भने ।

२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरुको देश र पार्टीप्रतिको बुझाइ अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न सबै लाग्ने उनले बताए ।

त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालन गर्न पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी उनले दिए ।

अध्यक्ष प्रचण्डले आफू देशव्यापी अभियानमा निस्कन थालेको पनि बताए । ‘परिवर्तनको महत्वपूर्ण आधार जनयुद्धको महत्वको स्थापित गरिएको छ,’ उनले भने, ‘जनयुद्ध दिवसलाई राष्ट्रिय बिदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामीले अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’

अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध रहेको र विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताए । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ,’ उनले भने, ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फुटाउन सक्दैन बरु फुटेका गएका शक्तिलाई पनि केही समयभित्रै एक बनाएर लगिनेछ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’