पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
कार्यालयले सो अवधिमा लक्ष्यको ७९.२८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन गरेको जनाएको छ । भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरेका छन् ।
‘चालु आवको साउनमा राजस्व संकलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व संकलनले आगामी दिनको दिशानिर्देश गर्नेछ,’ उनले भने ।
विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६.०१ प्रतिशत अर्थात् ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार राजस्व संकलन गरेको थियो ।
गत आव साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ । बरुवालले गत आव साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व संकलनमा केही कमी आएको बताए । आव २०७९/८० को साउनमा भने ३ अर्ब ६१ करोड ८५ लाख २ हजार राजस्व संकलन गरेको थियो ।