• Menu

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, वृद्धवृद्धालाई भत्ता लिन सहज

नेपाल प्रफिट

२०८१ भदौ ९, १४:११

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, वृद्धवृद्धालाई भत्ता लिन सहज

काठमाडौं । सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेकाले अनिवार्य गर्दा कैयौं जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावललगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिमकार्ड र सबै सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

२०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा साउन १ देखि २८ जिल्लाका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

दोस्रो चरणमा २०८१ माघ १ बाट थप ३८ जिल्लामा अनिवार्य गर्ने भनिएको थियो । २०८२ साउन १ पछि भने देशभरका ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी सरकारको थियो ।