• Menu

बाढी पसेर ५ सय बिघामा लगाइएको केराको बोट सुक्यो

नेपाल प्रफिट

२०८१ भदौ ७, शुक्रबार १४:४९

बाढी पसेर ५ सय बिघामा लगाइएको केराको बोट सुक्यो

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-१ भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् ।

स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिए । असार साउनमा आएको बाढीले केराबारीमा पानी जमेका कारण केराको बोट सुक्न थालेको किसानको भनाइ छ ।

एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा २ लाखभन्दा बढी खर्च हुन्छ । तर बाढीले ५ सय बिघा क्षेत्रफलको केरा मासिनेगरी करोडौँको क्षति पुर्‍याएको उनीहरु बताउँछन् । केराखेती गरिएको ठाउँमा पसेको पानी निकासी हुने ठाउँ नभएकाले केराको बोट पानीले गलेर नष्ट भइरहेको किसान बच्चालाल मण्डलले बताए ।

जग्गा धनीसँग वार्षिक भाडामा लिएबापत १ बिघा जग्गाको ३० हजार तिर्नुपर्छ । कोसी किनारमा किसानले लगाएको केरा छठको बेला बढी बिक्री हुन्छ । केराखेतीमा विभिन्न प्रकोपको समस्या खेपिरहेका किसानहरुमा बाढीको चपेटा थपिएको हो ।

केराखेतीबाट दसैंतिहारका बेला राम्रो आम्दानी गर्दै आए पनि यस वर्ष बाढीले केराका बोट नै नष्ट गरेको केराखेती गर्दै आएका इनर्देव लोगीले बताए ।

केराखेती नष्ट हुँदा घर खर्चसमेत चलाउन समस्या हुने अवस्था आएको भलुवाका किसान दिलीप यादव बताउँछन् । उनले भने, ‘बैंकबाट ऋण लिएर केराखेती गरेको थिएँ तर एक्कासि बाढी पसेर केराको बोट सुक्दा लगानी त गयो गयो मेहनत खेर जाने भयो ।’

किसानले हालसम्म कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । वैशाखमा पनि पानीसँगै हावाहुरी आउँदा केरा ढलेर क्षति पुगेको थियो । यस क्षेत्रमा उत्पादित केरा काठमाडौँ, नेपालगन्ज, काँकरभिट्टासम्म बिक्रीका लागि पुर्‍याइने गरेको छ ।