कास्की । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन् ।
अभियानका क्रममा बिहीबार साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रममा उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताए । ‘मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो संकल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ,’ उनले भने ।
अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताए ।
यात्रामा रहेको टोली शुक्रबार बिहान पोखराको अमरसिंह चोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रममा सहभागी हुनेछ । टोली दिउँसो रुपा गाउँपालिकाको पिपलेबजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।