• Menu

कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा बालचन खोरिया

नेपाल प्रफिट

२०८१ भदौ ७, शुक्रबार १२:०८

कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा बालचन खोरिया

सुनसरी । बराह नगरपालिका बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजीवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।

खोरियाका किसान केवल राईले ७ कठ्ठा जग्गामा अहिले सजीवन, किम्बु, केराखेती गर्दै आएको बताए । उनले भने, ‘सात कठ्ठा जग्गामा वरपर घेरा हालेर गाउँमै कृषि, पशुपालन तथा पोल्ट्री फार्म सञ्चालन गर्दै आएको छु । यसैबाट घर खर्च पुगेको छ ।’

व्यावसायिक रूपमा सुरु गरिएको कृषि व्यवसाय सन्तोषजनक रहेको उनले बताए । खोरियाका अर्का किसान नरेश रानामगरले कागतीखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

उनले अहिले ४ कठ्ठा जग्गामा कागतीखेती गर्दै आएका छन् । सुरुमा उनले १ सय ५२ बोट लगाएर कागतीखेती सुरु गरेका थिए । सिजनमा ३० हजारदेखि ४० हजारसम्म आम्दानी गरे । कागतीसँगै उनले धानखेती पनि गर्दै आएका छन् ।

खोरियामा किसानले बर्सेनि ५–६ पटकसम्म विभिन्न संस्थाको सहयोगमा कृषिखेतीको सामूहिक तालिम लिँदै आएका छन् । ‘कृषिको तालिम त लियौँ तर अझै बेमौसमी खेतीमा चुनौती छ, तरकारीखेती गर्न स्थायी टनेलको आवश्यकता छ,’ उनले भने, ‘किसान विपन्न हुँदा लगानी गर्न सक्ने अवस्था भने छैन ।’

यस विषयमा स्थानीय तथा प्रदेश सरकारले किसानलाई आर्थिक अनुदान र प्रोत्साहन गर्नुपर्ने रानामगरले बताए । ‘कम्तीमा नमुनाका लागि मात्रै भए पनि टनेल बनाउने व्यवस्था गरिदिए किसानलाई सहयोग पुग्छ,’ रानाले भने ।

२०६९ सालमा स्थापना गरिएको बालचन खोरिया कृषि सहकारी संस्थामा अहिले ९० घरपरिवारभन्दा धेरै किसान आबद्ध रहेको कृषि सहकारीका अध्यक्ष प्रेम खड्काले बताए ।

उनले भने, ‘यहाँ सबै घरपरिवारले केही न केही कृषि उद्यम गर्दै आएका छन् । बेलीचण्डाको घारी रहेको र माछा मारेर जीविकोपार्जन गर्ने २–४ घर किसान थिए, अहिले उनीहरु पनि व्यावसायिक कृषि क्षेत्रमा लागेका छन् ।’

खोरियामा हाल अधिकांश किसानले धान, सब्जी, कागती, फलफूलखेती गरेका छन् । त्यस क्षेत्रमा एकै खालका चिटिक्क परेका घर वरपर खेतबारी र करेसाबारीले ढपक्क ढाकेको गाउँ देखिन्छ । कृषि सहकारीका अध्यक्ष खड्काले भने, ‘कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा छ, बालचन खोरिया ।’

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्रदेश सरकारको बजेटमा सिँचाइ र किसानको सहयोगका लागि २ वटा डिपबोरिङको योजना भएको छ । ३८ लाख लागतमा आएको ‘डिपबोरिङ’को विद्युत् र पाइप लाइन विस्तारको काम भइरहेको खड्काले जानकारी दिए ।

उनले भने, ‘पूर्वमा चतरा नहर र पश्चिममा सप्तकोशी नदी भए पनि डाँडा र बगर रहेकाले पानी नचढ्ने र सुकेर जाने समस्या छ ।’ प्रदेश सरकारले डिपबोरिङ व्यवस्था गरिदिएको छ, काम भइरहेकाले पानी लाग्न थालेपछि एकीकृत कृषिखेतीको अवधारणामा अघि बढ्ने बताए ।

भूमिगत डिपबोरिङ सिँचाइ योजनाबाट पानी आउने भएपछि बस्तीवासी खुसी भएका छन् । बस्तीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ । ‘आर्थिक वर्ष २०८१/८२ मा बजेट परेको जानकारी आएको छ, बस्ती विस्तारसँगै कृषि पर्यटकीय क्षेत्र निर्माण गर्ने सम्भावना बढेको छ,’  खड्काले भने ।