• Menu

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

नेपाल प्रफिट

२०८१ भदौ ७, शुक्रबार ११:०६

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ । अधिकांश स्थानीयसँग नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा समस्या भएको हो ।

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यापार-व्यवसाय दर्ता पनि हुन नसकेको र कतिपय स्थानीयले बिनादर्ता व्यवसाय सञ्चालन गरेका छन् । यद्यपि, उत्पादित सामग्री किनबेचमा समस्या भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका क्रममा रहेकाले विद्युत् मिटरका लागि पनि जग्गाधनी पुर्जा नहुँदा समस्या भएकाले आफ्ना समस्या सम्बोधन गर्न सुस्तावासीले सरकारसँग माग गरेका छन् ।

गाउँमा झन्डै तीन सय परिवारको बसोबास छ । अधिकांशसँग नागरिकता नहुँदा उनीहरू राज्यले प्रवाह गर्ने सेवासुविधाबाट वञ्चित भएका छन् ।

सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागि आउने गरे पनि कार्यालयले जग्गाधनी पुर्जा नभएको भन्दै फिर्ता पठाइदिने गरेको छ । नागरिकता नहुँदा धनीपुर्जा पनि छैन ।

सुस्तावासीका समस्याप्रति जिल्लाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सुस्ताको समस्या विशिष्ट किसिमको भएकाले स्थानीय तहको सिफारिसका आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमति दिन सरकारको ध्यानाकर्षण गराएको जयसवालले बताए ।

स्थानीय तहको सिफारिसका आधारमा व्यवसाय दर्ताको व्यवस्था प्रदेश मातहतको घरेलु कार्यालयमा हुनुपर्नेमा मागसहितको ज्ञापनपत्र बुझाइएको छ । भौतिक पूर्वाधारले सम्पन्न हुँदै गए पनि नागरिकता समस्या भने समाधान हुन सकेको छैन । नारायणी नदी पारि सुस्तागाउँ जोड्ने झोलुंगे पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।