बाँके । सिमसार क्षेत्रका रूपमा रहेको नेपालगन्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान संकटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान संकटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान संकटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए । सो स्थानमा साइबेरिया, थाइल्यान्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् ।
पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एसोसिएसनको विज्ञ टोलीले डेढ घन्टासम्म सर्भे गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको उल्लेख छ ।
‘यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ,’ संरक्षणकर्मी चौधरीले भने, ‘कान्तिताल चराको आहाराको स्रोत हो, मोटरबोट चल्दा त्यसले पर्यावरणमा पनि नोक्सानी हुन्छ, ताल चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन् ।’
अध्यक्ष चौधरीले इन्धनबाट चल्ने मोटरबोटले चराको प्राकृतिक बासस्थान नष्ट हुने बताए । ‘प्राकृतिक सिमसारका रूपमा रहेको तालमा मोटरबोट चलाउन लागेको कुराले म चिन्तित छु,’ उनले भने, ‘यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक बासस्थान स्वतः नष्ट हुने निश्चित छ ।’
मोटरबोट चलाउन अनुमति दिने नेपालगन्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले बताए ।
उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । दुई वर्षअघि गरिएको गणनाअनुसार पहिलो वर्ष २५ प्रजातिका चरा फेला परेका थिए । दोस्रो वर्ष घटेर २२ प्रजातिका चरा फेला परेका छन् । आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ ।
तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) लगायतको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इण्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन् ।
बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् । सारसले पनि कान्तिताललाई प्रजनन स्थल बनाउँदै आएको छ । ‘सारसको प्रजनन स्थल पनि हो कान्तिताल,’ अध्यक्ष चौधरीले भने, ‘ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो बासस्थान मानिन्छ ।’
उनका अनुसार सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्तिताल र मानखोला हो । तर, यीमध्ये सबैभन्दा राम्रो बासस्थान सो ताल रहेको उनले बताए । यस स्थानमा विभिन्न जलचर र वनस्पपति छन् ।
दुर्लभ सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा सारस फेला परेका थिए । पन्छीविद् रामबहादुर शाहीले प्राकृतिक सिमसारमध्ये कान्तिताल सबैभन्दा राम्रो सिमसार क्षेत्र भएको उल्लेख गरे ।
उनले अफ्रिकाबाट आएको जुरे कोइली पनि सो तालमा रहेको जानकारी दिए । अन्य सयौँ स्थानका स्थानीय प्रजातिका चराको पनि बासस्थान उक्त ताल भएको उनले बताए ।
नेपालगन्जका अभियन्ता डा. विनोद कर्णले तालमा मोटरबोट चलाउने प्रयास घातक हुने उल्लेख गरे । ‘अनुरोध गर्दागर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो राम्रो हुँदैन,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाले २०७८ सालमा १० वर्षका लागि स्थानीय ठेकेदारलाई मोटरबोट चलाउन ठेक्का दिएको छ ।