काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बक्यौता उठाइन्छ, छाडिँदैन तर उद्योग बन्न गरेर होइन, चलाएर उठाइन्छ ।’
विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिने उनले बताए । ‘यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ,’ उनले भने, ‘यसमा सरकार र प्राधिकरणबीच कुनै मतभेद छैन ।’
उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको आरोप लगाए । विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको प्रधानमन्त्रीले स्पष्ट पारे ।
‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ,’ उनले भने, ‘बक्यौता उठाउन पनि त उद्योग चलाउनैपर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपतअनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।’