• Menu

प्रधानमन्त्री ओलीले २०७७ सालमा उद्घाटन गरेको आधारभूत अस्पताल अझै बनेन

नेपाल प्रफिट

२०८१ भदौ ६, १६:४७

प्रधानमन्त्री ओलीले २०७७ सालमा उद्घाटन गरेको आधारभूत अस्पताल अझै बनेन

कैलाली । घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अधुरै रहेको छ । सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो ।

२०७७ साल मंसिर १५ देशभरका ३ सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ शिलान्यास गरेका थिए । सोही अनुरुप साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो ।

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेल्धुरासँग गरिएको थियो । कम्पनीले ९ करोड ८६ लाखमा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ साल वैशाख २९ मा ठेक्का सम्झौता गरेको थियो ।

२०८० साल वैशाखभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्झौताको अवधि सकिँदासम्म भवनको जगमात्रै खनिएको छ ।

प्रमुख खडकबहादुर रावतले बजेट अभावका कारण भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको बताए । उनका अनुसार निर्माण कार्य थाल्दा १ करोड प्राप्त भए पनि त्यसपछि बजेट उपलब्ध हुन सकेन ।

नगर अस्पताल भवन बनाउन लागिएको जमिनको भोगाधिकार नभएकाले बजेट उपलब्ध हुन नसकेको रावतले बताए । उनले भने, ‘भोगाधिकारको फाइल तयार गरी संघीय मामिला मन्त्रालयमा पठाएका छौँ ।’

रावतका अनुसार निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएका छन् । भवन निर्माण सम्पन्न नभएपछि सो पालिकाले घोडाघोडी–२ स्थित स्वास्थ्य चौकीको भवनमार्फत नगर अस्पताल सञ्चालन गरेको छ ।