स्याङ्जा । स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत महसुलबापत १ करोड बढी अनुदान पाएका छन् ।
गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।
प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०/८१ मा १ सय १० आयोजनाले अनुदानबापत १ करोड ५ लाख १ हजार २०० सय १४ पाएको उनले बताए।
लिफ्ट खानेपानी आयोजनामा विद्युत महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदानग्राही छनोट गरी अनुदान दिइएको हो ।
स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिक रुपमा २५ हजारसम्मको विद्युत खपत गर्ने अनुदानग्राहीलाई कुल विद्युत महसुलको सतप्रतिशत अनुदान दिइएको हो ।
मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत उपलब्ध गराइएको हो । तीन तह वा सोभन्दा बढी तहको लिफ्टिङ खानेपानी योजनाका हकमा ९० प्रतिशत अनुदान दिइएको छ ।
मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत खपत गर्ने अनुदानग्राहीले कुल विद्युत महसुलको ५० प्रतिशत र तीन तहभन्दा बढीको लिफ्टिङ खानेपानी योजनाको हकमा ६५ प्रतिशत अनुदान दिइएको छ ।
मासिक रुपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत खपत गर्ने अनुदानग्राहीले कुल विद्युत महसुलको २५ प्रतिशत र तीन तहभन्दा बढी तह भएकाले ४० प्रतिशत अनुदान प्राप्त गरेको कार्यालयका लेखापाल प्रेमप्रसाद रेग्मीले बताए ।
मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत तथा तीन तहभन्दा माथिका योजनामा १५ प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो । सञ्चालनमा रहेका एक सय २० लिफ्ट खानेपानी योजनाले अनुदान रकमका लागि आवेदन दिएका लेखापाल रेग्मीले बताए ।
आवेदन दिएकामध्ये सबैको आवश्यक कागजात अपुग भएका र रित नपुगेकाले कुल एक सय १० योजनाले मात्रै विद्युत महसुलमा अनुदान पाएका हुन् ।