कास्की । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच खटपट बढेको छ । नयाँ सत्ता समीकरणअनुसार संघ सरकार गठन भएको डेढ महिना बितिसक्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारमा गएको छैन ।
सत्ता साझेदारीका विषयमा पटक-पटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताए ।
‘मुख्यमन्त्री र एमाले संसदीय दलका नेताबीच र दुवैतर्फको कार्यदलस्तरमा छलफल भइरहेको छ,’ उनले भने, ‘छिट्टै सहमति जुट्ने विश्वास छ, अब पनि ढिलो गरियो भने अनावश्यक आशंका पैदा हुन्छ ।’ यहाँ कांग्रेस संसदीय दलका नेता सरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ ।
मुख्यमन्त्री पाण्डेले अहिलेको सरकारमा मन्त्री रहेका नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनर्गठन गर्न चाहेको प्रदेशसभा सदस्य सुवेदीले बताए ।
‘उनीहरु दुवैलाई सरकारमा साथै लिएर जानुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ, संसदीय दलले पनि यही निर्णय गरेको छ,’ उनले भने, ‘हिजो अप्ठ्यारो घडीमा सरकारलाई साथ दिनुभएका प्रदेशसभा सदस्यलाई कांग्रेसले सरकारबाहिर राख्न सक्दैन ।’
प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले जेठ २८ मा प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।
एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले छलफल औचित्य पुष्टि हुने गरी मन्त्रालय थप गर्ने विषयमा एमाले सकारात्मक रहेको बताए ।
‘अहिले भइरहेका मन्त्रालयमार्फत सेवा प्रवाहमा बोझ र समस्या भएको अवस्था हो भने केही मन्त्रालय थप गर्न सकिन्छ,’ उनले भने, ‘संविधानमा दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु हुँदैन, नागरिकको पनि त्यसमा विरोध छ ।’ मुख्यमन्त्रीले ल्याएको मन्त्रालय थप गर्ने प्रस्तावमा छलफल चलिरहेको उनको भनाइ छ ।
अहिले सात मन्त्रालय छन् । यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा १२ बाट घटाएर मन्त्रालय संख्या सातमा झारिएको थियो ।
आफ्नो सरकारका पालामा मन्त्रालय संख्या घटाएर जनस्तरबाट प्रशंसा बटुलेको एमालेले अहिलेको सरकारले पनि मन्त्रालय नथपोस् भन्ने चाहन्छ । तर, साना दललाई पनि सरकारमा समेट्ने कांग्रेसको अडानका कारण त्यो सम्भव हुने देखिएको छैन ।
‘मन्त्रालय थप्ने र भागबण्डाका विषयमा दुई दलबीच सघन ढंगले छलफल चलिरहेको छ, छिट्टै सहमतिमा जुट्छ,’ एमाले प्रमुख सचेतक नेपालीले भने । साना दललाई पनि समेटेर जाने विषयमा एमाले सकारात्मक रहेको उनको भनाइ छ । सम्मानजनक हैसियतबिना एमाले सरकारमा नजाने उनले बताए ।
मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले कांग्रेसका २७, राप्रपाका २, नेसपाका १ र १ स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाएका थिए । एमालेका २२ र माओवादी केन्द्रका ६ प्रदेशसभा सदस्यले विश्वासको मत विपक्षमा दिएका थिए ।
त्यसअघि मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र)का ७ (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।