बागलुङ । ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् ।
भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटिँदै गएका छन् ।
ढोरपाटनका ७६ वर्षीय नन्दराम घर्ती मगरले पहिले–पहिले कतै पनि मोटरबाटो नहुँदा टाढाको यात्रा गर्दा पाटीपौवा, धर्मशालामा बास बस्ने र चौतारीमा बसेर थकाइ मार्ने गरेको स्मण गर्दै अहिले ती सम्पदा मेटिएकामा दुःखेसो पोखे ।
त्यसबेलाका हरेक नागरिकमा मौलिक सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच हुने गरेको उनले बताए । अहिले सडक सञ्जालले गर्दा त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।
डेढ दशकअघि उनी गाउँबाट साता दिनसम्म हिँडेर बजार पुग्ने गर्थे । अहिले केही घण्टामा पुग्न सकिने अवस्था आएकोमा भने उनी खुसी छन् ।
‘अहिलेका पुस्तालाई पाटीपौवा, धर्मशाला, चौपारी के हो भन्ने थाहा छैन । दुई–चार वर्षअघि गाउँमा वरपिपलका चौतारी भेटिन्थे, गर्मीको समयमा त्यहीँ गएर शीतल लिन्थ्यौं,’ उनले भने, ‘अहिले ती वरपीपल पनि डोजरले उप्काएर फाल्यो, उतिबेला चौतारी भएको ठाउँमा अहिले मोटर गाडी गुड्छन्, नयाँ पुस्ताले मौलिक सम्पदा चिन्न सकेनन्, संरक्षण गर्न जानेनन् ।’
गाउँमा सडक आएपछि आवागमन र दैनिकी सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको निसीखोलाका ७२ वर्षीय कुमबहादुर बुढा मगरले बताए । आफूहरुको पालामा वरपिपल रोपेर चौतारी बनाउँदा पुण्य कमाइने मान्यता राखिने भन्दै अहिले पापपुण्य भन्ने चलन हराउँदै गएको उनले गुनासो पोखे । सडक नआउँदासम्म गाउँको १२–१५ स्थानमा वरपीपलको चौतारी तथा ढुंगे धारा रहेको थिए । अहिले ती ठाउँ सबै पुरिएर सडक बनेको उनले बताए ।
निसीखोलाका अध्यक्ष सूर्यबहादुर घर्तीले भने विकास निर्माण गर्दा मौलिक सम्पदाको संरक्षणलाई ध्यानमा राखेर काम गरिरहेको बताएका छन् । पालिकाले पोखरी संरक्षणका लागि पुरानालाई मर्मत र नयाँ निर्माणलाई जोड दिएको उनले जानकारी दिए ।
मौलिक सम्पदाले समाजको पहिचान बोकेकाले पर्यटक प्रवर्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष घर्तीको भनाइ छ । ‘निसीखोलामा बढी ग्रामीण क्षेत्र रहेकाले पनि मौलिक संस्कृतिको संरक्षणमा गाउँ, समाज र स्थानीय प्रशासनको भूमिका रहन्छ,’ उनले भने, ‘आपसी सहकार्य र एकताका साथ काम गर्नुपर्छ ।’