• Menu

इलाममा बढ्यो ड्रागनफ्रुट खेती, १२ लाखसम्म कमाउँदै किसान

नेपाल प्रफिट

२०८१ भदौ ५, बुधबार १२:१३

इलाममा बढ्यो ड्रागनफ्रुट खेती, १२ लाखसम्म कमाउँदै किसान

इलाम । इलाममा किसानको ड्रागनफ्रुट (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।

चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख आम्दानी गरेका छन् । एक बिघामा लगाइएका ३ हजार बिरुवाबाट उनले फलेका फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख आम्दानी गरेका हुन् ।

‘गत वर्षसम्म फल र बिरुवाबाट १२ लाख आम्दानी गरेको थिएँ,’ उनले भने, ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी पनि बढ्ने अपेक्षा गरेको छु ।’

उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी खेती सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् ।

उनले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएको बताए । व्यापारीहरु बगानमा नै आएर लैजाने गरेका छन् । उनले उत्पादन गरेका ड्रागनफ्रुट दमकमा नौ खपत हुने बताए ।

‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न व्यापारी बगानमा नै आउँछन्,’ उनले भने, ‘बगानबाट प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ उनले उत्पादन गरेका बिरुवा भने वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेका छन् ।

सरकारी मूल्यअनुसार बिरुवा प्रतिगोटा १ सयका दरले बिक्री हुने गरेको उनले बताए । उनले सुरुमा परीक्षणका लागि केही बिरुवा रोपेका थिए । त्यसबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी परम्परागत खेतीलाई विस्थापन गरी व्यावसायिक रुपमा ड्रागनफ्रट खेती सुरु गरेका हुन् ।

अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको बताए ।

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन् । उनले ६ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोपेका छन् ।

उनले लगाएका सबै बोटबाट उत्पादन हुन थालेका छन् । ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गरेका उनी बताउँछन् । ‘मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक २ लाख ५० हजार आम्दानी गर्दै आएको छु,’ उनले भने, ‘अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।’

ड्रागनफ्रुट खेती चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ । ड्रागनफ्रुट फलेको ३०औँ दिनमा खानयोग्य हुन्छ । टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रने हुन्छ । ड्रागनफ्रुट वर्षमा ६ महिनासम्म निरन्तर फल्छ ।

यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम चलिरहन्छ । गर्मी समयको जेठ दोस्रो सातादेखि मंसिर दोस्रो सातासम्म मुख्य रुपमा फल फल्छ । ड्रागनफ्रुटको बिरुवाबाट रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागनफ्रुट पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरु बिरुवा वृद्धि गर्न सकिन्छ ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताए ।

ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट १ हजार ५ सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि १ सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ ।

नेपालमा यो फलको खेती सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा गर्न सकिने कृषिविज्ञहरुले बताउँछन् ।