• Menu

टिकटकमाथिको प्रतिबन्ध हटाउँदै सरकार

नेपाल प्रफिट

२०८१ भदौ ४, १६:२६

टिकटकमाथिको प्रतिबन्ध हटाउँदै सरकार

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री नेपाली कांग्रेससँग छलफल गरी टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीबाट सिग्नल पाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेका छन् । टिकटकले नेपालका सबै नियम कानुन पालना गर्ने प्रतिबद्धता जनाउँदै पत्राचार गरेपछि सरकार लचिलो बनेको हो ।

चिनियाँ पक्षले यसअघि पनि पटक-पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा जुटेको बताइएको छ । पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २३ मा सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्नेसहितका व्यवस्था गरेको थियो ।

लगत्तै कात्तिक २७ मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले नेपालमा अनिश्चितकालका लागि टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

भारतमा सन् २०२० देखि टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । अमेरिकामा पनि सीमित प्रतिबन्ध छ । विश्वका ३० भन्दा बढी देशमा टिकटकमाथि आंशिक या पूर्ण प्रतिबन्ध छ ।