चितवन । रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो ।
आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट वञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडाध्यक्ष सजना महतोले जानकारी दिइन् ।
कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको उनले बताइन् ।
उनले वडा नम्बर ७ मा २५० धारा जोडिसकेको र हाल थप २४ धारा जोडिएको जानकारी दिइन् । सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम आवश्यकता पूरा गर्ने प्रतिबद्धता उनले जनाइन् ।
खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशतसम्म अनुदान दिँदै आएको उल्लेख गरे । उनका अनुसार स्थानीय सरकार र सामुदायिक वनसँग सहकार्य गरी विभिन्न समुदायलाई सतप्रतिशत अनुदानमा धारा जडान गरिएको छ ।
यसरी धारा जडान गरेका घरधुरीको संख्या ४ सयको हाराहारीमा पुगेको उनले बताए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले मुसहर समुदायको विकासको लागि वनले धेरै कुरामा सहयोग गर्दे आएको बताए ।
उनले यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युत् मिटर बक्स जडान गरेको उल्लेख गरे ।
सामान्य आधारभूत कुरामा समेत पछाडि परेको यस समुदायका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि वनसँगै विभिन्न संस्थाले पनि सहयोग गर्दै आएको र यसले उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको उनले बताए ।
यस बस्तीका मानिसको जीवनस्तर उकास्न परम्परागत पेसा माछा मार्नेभन्दा अन्य पेसामा संलग्न गराउन वनले पहल गदै आएको उनको भनाइ छ । नगर प्रमुख प्रह्लाद सापकोटाले नागरिकलार्ई स्वच्छ खानेपानी दिन तथा आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा लगानी गर्न पालिका तयार रहेको बताए ।
उनले नागरिकको न्यूनतम आवश्यकता पूरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने स्पष्ट पारे ।
बेरोजगारी समस्या समाधान गर्न उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याज ३ लाखसम्म कर्जा प्राप्त गर्नसक्ने सापकोटाले जानकारी दिए । ‘आर्थिक अभावका कारण कोही पनि खाली हात बस्न पर्दैन,’ उनले भने ।
खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उनले हाल मासिक ९० रुपैयाँ खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा सो शुल्क घटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।