काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
काठमाडौं क्षेत्र नं १ मा मंगलबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले मन्त्रालयले सहरी विकास र पूर्वाधार निर्माणको काम सहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने जानकारी दिए ।
उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको र परिणाम देखिन केही समय लाग्ने उनको भनाइ छ । ‘जसरी चलिरहेको छ, त्यसैगरी चलाऊँ भनेर हुँदैन,’ उनले भने, ‘संविधानले दिएको अधिकार आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनतालाई परिवर्तन महसुस गराउन सक्नुपर्छ ।’
राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणालीलाई सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे ।
‘जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेका हुन्,’ उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दा हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’