इलाम । सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गरे । ‘याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यस वर्ष राम्रै गरी काँक्रा बिक्री भए,’ उनले भने, ‘झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा ३० देखि ९० रुपैयाँसम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य बिक्री हुन्छ ।’
काँक्रो लगाउँदा एक लाख ५० हजार खर्च भएको उनले बताए । ‘६–७ लाख आम्दानी भयो होला,’ उनले भने, ‘गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्राय: सबै किसानले कम्तीमा चार–पाँच सयवटा काँक्रो बिक्री गरेका छन् ।’
काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको गड्तौलाले बताए । योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गरेका छन् । ‘सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो,’ उनले भने ।
अहिले वडा कच्ची भए पनि बाह्रै महिना सवारी साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो भएको छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने टरेको छ ।
अघिल्लो पटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ ।
दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।
अठार किलोमिटर कालोपत्रको काम भइसकेको नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताए । यस्तै, अहिलेसम्ममा १ सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको उनले जानकारी दिए ।
बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा ५० लाख बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकताअनुसार वडाले एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्ने नगर प्रमुख रणबहादुर राईले बताए ।
‘कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउमा सहज यातायातको पहुँच पुग्न थालेको छ,’ उनले भने, ‘यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।’
विगतका वर्षहरुमा बर्खा सुरु भएपछि सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायतका कृषि उत्पादन बारीमै कुहिने गरेको थियो ।
सूर्योदयका मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताए ।
‘मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु,’ उनले भने, ‘यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।’
किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका मुन्टालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।