• Menu

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच दुई घन्टा संवाद

नेपाल प्रफिट

२०८१ भदौ ३, १५:१४

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच दुई घन्टा संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको बिहानीका करिब दुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग बिताएका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल भएको हो ।

दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको उनले सुनाए । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए ।

उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल बनाउने प्रतिबद्धता जनाए । ‘तपाईँहरुलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ । आगामी खेलमा जित्छौँ भन्ने जुन तपाईँहरुको मनोबल छ, त्यो साकार होओस्,’ प्रधानमन्त्री ओलीले भने, ‘खेल खेल्ने भनेकै जित्नका लागि हो, राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस्, सफलता पक्कै मिल्नेछ ।’

गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको उनले स्मरण गरे । ‘विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको छ,’ उनले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए । प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।