• Menu

डुडुवा गाउँपालिकाका ७३ विपन्न परिवारलाई बाख्रा वितरण, आर्थिक उन्नतिमा सहयोगी बन्ने विश्वास

नेपाल प्रफिट

२०८१ भदौ ३, १४:३८

डुडुवा गाउँपालिकाका ७३ विपन्न परिवारलाई बाख्रा वितरण, आर्थिक उन्नतिमा सहयोगी बन्ने विश्वास

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिइन् ।

‘विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई बाख्रापालनको माध्यमबाट आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो,’ उनले भनिन्, ‘प्रतिपरिवार तीनवटाका दरले बाख्रा वितरण गरिएको छ ।’

गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र चाँडो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको उनको भनाइ छ ।

बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ । निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानलाई सीप र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक बनाउन प्रोत्साहनका लागि बाख्रा वितरण गरिएको सुनारले बताइन् ।

उनका अनुसार होलिया र हिरमिनियाका गाउँबस्तीमा गठन भएका महिला समूहमा आबद्ध किसानलाई बाख्रापालन परियोजनाअन्तर्गत बाख्रा सहयोग गरिएको हो । बाख्रा पाएपछि स्थानीय खुसी भएको डुडुवा–६ का अध्यक्ष मोहनराम मिश्राले बताए । उनले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक उन्नतिमा बाख्रापालन सहयोगी बन्ने अपेक्षा गरे ।

दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत तथा सेवामा पहुँच अभिवृद्धि गर्न समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार संस्थाले सहयोग गर्दै आएको दलित महिला संघकी परियोजना संयोजक दिलासा गौतमले बताइन् ।

उनका अनुसार दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तीकरण गराउँदै वडा एवं गाउँपालिका स्तरका संरचनामा सहभागी बनाउन खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ सदस्य रहेका ५४ महिला समूह गठन गरेर दलित महिला संघ बाँकेले काम गरिरहेको छ ।