• Menu

भरतपुरमा सहकारीमार्फत कोदो बाली संरक्षण, १० बिघामा रोपियो

नेपाल प्रफिट

२०८१ भदौ ३, १४:२१

भरतपुरमा सहकारीमार्फत कोदो बाली संरक्षण, १० बिघामा रोपियो

चितवन । चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका-९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो ।

सहकारी संस्थामार्फत आइतबार भरतपुर-८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ । सुरुमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष वेदप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो । ‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरुले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ,’ सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्न अभियान चलाएका हौँ ।’

सापकोटाका अनुसार वडा नम्बर ८ र ९ मा रहेको करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस वर्षमात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघामा कोदो रोपिएको छ ।

सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो । त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो । त्यस बीउमध्ये संस्थाका सदस्यलाई यस वर्ष २२ किलो बीउ वितरण गरिएको सापकोटाले बताए ।

वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको जनाए । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको उनको भनाइ छ । आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उनले बताए ।

लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीय पनि हर्षित भएका छन् । भरतपुर-८ का चन्द्रमणि कँडेलले कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए । विगतमा पहाडमा रहँदा २२ मुरीसम्म कोदो उत्पादन गरेका उनले चितवन झरेपछि रोप्न छाडेका थिए । यस वर्ष उनले दुई कट्ठा जमिनमा कोदो रोपेका छन् ।

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । अन्य बालीभन्दा कम लगानी र मेहनतमा कोदो खेती गर्न सकिने भएकाले किसानका लागि समेत लाभदायक हुने कृषि विकास कार्यालयका कृषि अधिकृत उमनाथ अर्यालले बताए ।

चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर १.२ मेट्रिक टन छ । गत वर्ष जिल्लामा एक हजार चार सय ६५ हेक्टरमा कोदोखेती गरिएको थियो ।