• Menu

लामिडाँडा विमानस्थल : ४८ वर्षसम्म कच्चीमै उडान, कालोपत्र भएपछि ठप्प

तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेको पाँच वर्ष बित्यो, उडानको छैन टुंगो

नेपाल प्रफिट

२०८१ भदौ ३, १३:४७

लामिडाँडा विमानस्थल : ४८ वर्षसम्म कच्चीमै उडान, कालोपत्र भएपछि ठप्प

खोटाङ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले लामिडाँडा विमानस्थलमा २०७६ असार ३ गते परीक्षण उडानको शुभारम्भ गरे ।

समिट एयरको नाइन एन-एएमजी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रममा उनले लामिडाँडा विमानस्थलमा नियमित उडान भराउन प्राधिकरणसँग छलफल भइरहेको आश्वासन दिए । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान, अवतरण भएको छैन ।

२०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टर्निङ प्याडमा दायाँबायाँ २८-२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुंगा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पर्थ्ये ।

स्थानीय बासिन्दाले कुटो, कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो ।

४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलबाट कालोपत्र भएपछि भने नियमित उडान बन्द भएको छ । उडान नहुँदा स्थानीय बासिन्दा र पर्यटक समस्यामा परेका छन् ।

कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

तीन जिल्लाका बासिन्दा तथा त्रिधार्मिक स्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले गुनासो गरे ।

‘स्थानीय बासिन्दाले कुटो, कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामिडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ,’ उनले भने ।

नियमित उडान भराउन सम्बन्धित निकायमा पटक-पटक अनुरोध गरिरहेको उनले जानकारी दिए । ‘राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन्, यसप्रति ध्यान जान जरुरी छ,’ उनले भने ।

लामिडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ ।

विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्ने गरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताए । ‘लामिडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामिडाँडा विमानस्थलमा ६ वर्षदेखि उडान अवरुद्ध छ,’ उनले भने, ‘नियमित उडान भर्ने गरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन ।’

१० स्थानीय तह रहेको खोटाङमा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् ।

दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका-४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारनजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।

प्राधिकरणको सात करोड २४ हजार तीन सय ८० रुपैयाँ लागतमा लामा बिल्डर्स/चाङ्मिला जेभी निर्माण कम्पनीले कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ ।

दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको १० करोड ६० लाख ७१ हजार रुपैयाँ लगानीमा कालोपत्र गरेको हो ।

(रासस)