काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।
मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि उनले देश र जनताका लागि गर्न पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न निर्देशन दिए ।
उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर सतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट पारे ।
‘हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने ।
सरकारको लक्ष्य निर्धारण गराइ काल्पनिक नभएर वस्तुगत हुनुपर्ने उनले बताए । ‘पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरु नै कमजोर राखिनु हुन्न । हामीले कठिन मेहनतका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ । अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ,’ उनले भने ।
धेरै काम गर्दा समस्या आउला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराउन उनले कर्मचारीलाई आग्रह गरे । ‘गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन,’ उनले कर्मचारीलाई आश्वस्त पार्ने शैलीमा भने ।
प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिन आग्रह गरे ।
उनले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सिर्जनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराए ।