सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुबारी स्थित पर्यटकीय स्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीय स्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँ पर्यटक आउने गरेका हुन् ।
पैदलयात्रा तथा साइक्लिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट ६ किलोमिटर दूरीमा पर्छ ।
अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजीव दुलालले बताए । यहाँ सिन्धुपाल्चोकसहित काभ्रे, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेको उनले जानकारी दिए ।
आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताए । पर्यटकीय सम्भावना रहेकाले स्थानीय सरकारले पर्यटन प्रवर्धनमा योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । पर्यटन प्रवर्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उनको भनाइ छ ।
भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधिसमेत सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताए ।
काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताए । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले नजिकै रिसोर्ट सञ्चालन गरेका छन् । थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।