• Menu

नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र अनुकरणीय हुनसक्छ : देउवा

नेपाल प्रफिट

२०८१ साउन ३०, बुधबार १६:१७

नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र अनुकरणीय हुनसक्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको अभिन्न अङ्ग सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने विषय सहमतिमा पुग्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक महत्व भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलमा सभापति देउवाले सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एक स्वरमा सर्वसम्मतिका साथ एकै ठाउँमा उभिनु ऐतिहासिक भएको धारणा राखे ।

‘हामीले समग्रमा शान्तिप्रक्रियाको बाँकी रहेका अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ । यो आफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो,’ उनले भने ।

शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न आवश्यक कानुनका साथै सक्षम आयोग गठनको आवश्यकता उनले औँल्याए ।

पूर्वप्रधानमन्त्री देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन सम्बद्ध सबै पक्ष, तह र तप्कालाई आह्वान गरे । ‘हामीले एकअर्कालाई शङ्का वा आरोपित गर्नेभन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रणालीप्रति सजग हुन आवश्यक छ,’ उनले भने ।

मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने प्रसंग उल्लेख गर्दै सभापति देउवाले सङ्क्रमणकालीन न्याय निरुपण र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिएको स्पष्ट पारे ।