• Menu

आइएमई लिमिटेडको नेतृत्व २५ वर्षपछि हस्तान्तरण, अध्यक्ष बने हेमराज ढकाल

नेपाल प्रफिट

२०८१ साउन ३०, बुधबार १४:५१

आइएमई लिमिटेडको नेतृत्व २५ वर्षपछि हस्तान्तरण, अध्यक्ष बने हेमराज ढकाल

काठमाडौं । आइएमई लिमिटेडको नेतृत्व २५ वर्षपछि हस्तान्तरण भएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नै नेतृत्वको आइएमई लिमिटेडको अध्यक्षको जिम्मेवारी भाइ हेमराज ढकाललाई हस्तान्तरण गरेका हुन् ।

आइएमई लिमिटेड तथा जीएमई रेमिट प्रालिको संयुक्त कारोबार शुभारम्भको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले आजैका मितिदेखि आफूले भाइ हेमराजलाई आइएमईको अध्यक्षको जिम्मेवारी सुम्पिएको जानकारी गराए ।

‘आजकै दिनदेखि मैले यस आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट बिदा लिने पनि जानकारी गराउन चाहन्छु,’ उनले भने ।

नवनियुक्त अध्यक्ष हेमराजले सेवाग्राहीको अपेक्षा र बजारको मागलाई ध्यानमा राख्दै दूरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास व्यक्त गरेका छन् ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष ढकाल आइएमई ग्रुपका प्रबन्ध निर्देशक हुन् । आइएमई ग्रुपको नेतृत्व भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालले गरेका छन् ।

२०५८ जेठ ३० गते स्थापना भएको आइएमई लिमिटेड नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनी हो । स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा आरम्भको २४औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा गरी २२५ आइएमई सेन्टर स्थापना गरिसकेको छ ।

त्यस्तै कम्पनीले ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्