चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१-००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन् ।
घाइतेमध्ये सात जना बढी घाइते भएका छन् । तथापि, उनीहरुको अवस्था चिन्तामुक्त छ । तीन जना भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी साधन बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका-२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रक चालक रामेछाप साङटार गाउँपालिका-२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।