चितवन । मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका-३ बाह्रघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बिमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए ।
स्वास्थ्य बिमाको बारेमा ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा उनी बिमा कार्यक्रममा समावेश भएका थिए । अहिले उपचारमा लाग्ने खर्चको जम्मा १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा छक्क परे । लामो लाममा बसेर भए पनि उनी उपचार गराएरै गए ।
माडी नगरपालिका-७ बाट उपचारका लागि भरततपुर अस्पताल आएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बिमाले फाइदा मिलेको बताए । ‘ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेका लागि स्वास्थ्य बिमा फलदायी छ,’ उनले भने ।
पहिला आफूलाई पनि बिमा गर्दा के हुन्छ र भन्ने लागेको भए पनि बिमाबाट उपचार सेवा लिँदा पैसाको बचत हुने गरेको अनुभव उनले गरेका छन् । ‘हामी जस्तालाई बिमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ,’ उनले भने ।
भरतपुर महानगरपालिकाका केदार पन्थले तीन वर्षदेखि बिमामार्फत उपचार गराउँदै आएका छन् । टिकट काउन्टर अगाडि भेटिएका उनी पेटमा समस्या भएर अस्पताल आएका हुन् ।
‘स्वास्थ्य बिमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ,’ उनले भने, ‘थोरै रकममा धेरै सेवा लिन पाइएको छ, खुसी छु ।’ थोरै पैसाले हुने भएकाले सबै नागरिक यो कार्यक्रममा जोडिन सके राम्रो हुने उनले सुझाए ।
भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बिमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बिमाका बिरामीको उपचार गरिएको अस्पतालको बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था भएकाहरूलाई पनि उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन,’ उनले भने ।
आव २०७९/८० मा पनि अस्पतालमा बिमामार्फत दुई लाख ५० हजार ६१७ पटक बिमा सुविधा उपलब्ध गराइएको पौडेलले बताए । एउटै व्यक्ति धेरैपटक पनि बिमामा आउने गर्छन् ।
पौडेलका अनुसार सो वर्ष ५२ करोड ५३ लाख ३७ हजार ५१२ रुपैयाँ रकम भुक्तानी अस्पतालले पाएको थियो । बिमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने बनाएको उनले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बिमामा जोडिएको चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बिमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताए । अति विशिष्टीकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बिमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उनले जानकारी दिए ।
‘बिमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बिमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ,’ उनले भने । स्वास्थ्य बिमाले गर्दा पैसाको अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ ।
‘स्वास्थ्य बिमा विशेषगरी विपन्नका लागि वरदान सावित भएको छ,’ उनले भने । बिमा कार्यक्रम लागू भएसँगै बिरामीको संख्या पनि ह्वात्तै बढेको उनले बताए ।