• Menu

पर्यटकको रोजाइमा इलाम, एउटै नाकाबाट करिब डेढ लाखले गरे भ्रमण

नेपाल प्रफिट

२०८१ साउन २८, १०:५६

पर्यटकको रोजाइमा इलाम, एउटै नाकाबाट करिब डेढ लाखले गरे भ्रमण

इलाम । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्यांकअनुसार आव २०८०/८१ मा एक लाख ४१ हजार ५१७ पर्यटक इलाम भित्रिएका छन् ।

२०८० साउन १ देखि २०८१ असार मसान्तसम्म एक लाख १७ हजार ७४० आन्तरिक र २३ हजार ७७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए । सबैभन्दा कम भदौमा ९१८ र सबैभन्दा बढी पुसमा ३६ हजार १२३ पर्यटकले इलाम घुमेका छन् ।

पर्यटन सूचना केन्द्रको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा एक लाख ३३ हजार ४४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/७९ मा एक लाख २९ हजार ५८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना संक्रमण बेला आव २०७८/७९ मा २९ हजार ८११ जनाले मात्र इलाम भ्रमण गरेका थिए ।

माईपोखरी

‘जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्यांकमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङ्सेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्,’ सूचना अधिकारी घिमिरेले भने, ‘कोरोनापछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको संख्या बढ्दो छ ।’

कोरोनापछिका वर्षहरूमा पर्यटकीय स्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुंगा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्छन् ।