महोत्तरी । एक सातादेखि महोत्तरीको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म ८१ लाख रुपैयाँ संकलन भएको छ ।
महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म ८१ लाख दुई हजार २३ नगद दान प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार महायज्ञमा अहिलेसम्म ६५३ जनाले दान गरेकामा एक जनाले भने एक लाख दुई हजार रुपैयाँ गोप्य दान गरेका छन् । साउन २१ देखि २९ सम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि डेढ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।
यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गरेका छन् भने बर्दिवास नगरपालिका १४ बस्ने चन्देश्वर साहले १०५ बोरा सिमेन्ट सहयोग गरेका छन् ।