काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आइतबार २८६० अंक पार गर्दा कारोबार रकममा २५ अर्ब ७७ करोडको रेकर्ड बनेको छ । सेयर बजार परिसूचक ९४ अंकले बढ्दा कारोबार रकममा नयाँ रेकर्ड बनेको हो ।
आज नेपालको सेयर बजार इतिहासमै सर्वाधिक २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको छ । नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६०.८४ अंकमा उक्लिएको छ ।
नेप्सेमा सर्वाधिक मूल्यको सेयर किनबेच भएको दिन नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् ।
आज २५५ कम्पनीका लगानीकर्ताले कमाउँदा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । दुई कम्पनीको सेयर मूल्यमा परिवर्तन आएन ।
आइतबार २६ कम्पनीका लगानीकर्ताको सम्पत्तिको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबै समूहमा हरियाली छाउँदा नेप्से ३.४१ प्रतिशतले उकालो लागेको हो ।