• Menu

भरतपुर महानगरपालिकाले सुरु गर्‍यो गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण

नेपाल प्रफिट

२०८१ साउन २७, ११:२१

भरतपुर महानगरपालिकाले सुरु गर्‍यो गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण

चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ ।

महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढुंगाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन्,’ उनले भने । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । निर्माणमा सहजीकरणका गर्न महानगरपालिकाले निर्माण स्थलमा कार्यालय स्थापना गरिने उनले बताइन्

महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्न मिल्ने प्यारापिटसहित मैदान तयार गरिनेछ । रंगशाला निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ छ । २०८३ पुस २२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि २८६ वटा पिलर खडा भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गा रंगशालाले चर्चेको छ ।