काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार १४५.०५ अंकको पहिरो जाँदा दुईवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा २३३ कम्पनीका लगानीकर्ताले उच्च क्षति व्यहोर्दा थ्री स्टार हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, मैलुङ खोला जलविद्युत कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला, आरम्भ चौतारी लघुवित्त र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बढेको हो ।
यीमध्ये आज थ्री स्टार र कुथेली बुखारीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा पहिरो जाँदा अन्य ६ कम्पनीका लगानीकर्ता पनि भाग्यमानी सावित भएका छन् ।
मंगलबार कारोबार रकमले भने रेकर्ड बनाएको छ । ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा किनबेच भएको हो । यो रकम नेपालको सेयर बजार इतिहासमा हालसम्मकै उच्च हो ।
यसअघि साउन १६ गते २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको सेयर कारोबार भएको थियो ।