• Menu

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ‍२ अर्ब ९३ करोड प्रतिफल वितरण

नेपाल प्रफिट

२०८१ साउन २, बुधबार १२:३०

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ‍२ अर्ब ९३ करोड प्रतिफल वितरण

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई करिब ३ अर्ब रुपैयाँ प्रतिफल वितरण गरेको छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ को प्रतिफलमा अघिल्लो वर्ष २०७९/८० को अडिट रिपोर्टपछिको रकम थप गरी योगदानकर्ताकै खातामा जम्मा गरिदिएको हो ।

कोषका उप-कार्यकारी निर्देशक कृष्ण अधिकारीका अनुसार गत वर्षको ७.५ प्रतिशत ब्याजदरले २ अर्ब ७४ करोड रुपैयाँ र अघिल्लो वर्षको अडिट रिपोर्टपछि थप भएको ०.७५ प्रतिशतले हुन आउने १९ करोड रुपैयाँ गरी २ अर्ब ९३ करोड रुपैयाँ प्रतिफल (ब्याज) योगदानकर्ताको खातामा जम्मा भएको छ ।

कोषमा असार ३१ सम्ममा १९ हजार २१० रोजगारदाता र १४ लाख ९१ हजार ५४० योगदानकर्ता सूचीकृत भएका छन् । यीमध्ये वैदेशिक रोजगारीमा रहेका योगदानकर्ताको संख्या ९ लाख ७९ हजार छ ।

कोषमा योगदानकर्ताको ५८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ भने ९ अर्ब ८४ करोड दाबी भुक्तानी भइसकेको छ । दाबी भुक्तानीमध्ये सबैभन्दा धेरै अवकाश दाबी रकम ८ अर्ब ३१ करोड रुपैयाँ छ ।

त्यस्तै १ अर्ब २२ करोड औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी, १३ करोड दुर्घटना तथा अशक्तता सुरक्षा दाबी र १५ करोड आश्रित परिवार सुरक्षा दाबीतर्फ भुक्तानी भएको उप-कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

यस्ता छन् कोषले योगदानकर्तालाई दिएका सुविधा

औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता र योगदानकर्ताका श्रीमान या श्रीमतीले हरेक आर्थिक वर्षमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् ।

त्यस्तै तीन महिनासम्मको शिशुको उपचार खर्च, १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च र योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १५,०००) बराबरको शिशु स्याहार खर्च पनि उपलब्ध हुनेछ ।

महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम पनि कोषले प्रदान गर्छ ।

योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम पनि प्राप्त हुने व्यवस्था छ ।

औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबाहेक योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सुविधा पाउँदै आएका छन् ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च र अन्य दुर्घटनाको हकमा वार्षिक ७ लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त हुनेछ ।

कामको सिलसिलामा हुने दुर्घटनाका कारण योगदानकर्ता स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन र अस्थायी पूर्ण असक्षम भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत उपलब्ध हुनेछ ।

स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन उपलब्ध गराइने कोषले जनाएको छ ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउनेछन् ।

त्यस्तै मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउनेछन् । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउँछन् । शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लाग्दैन ।

त्यस्तै योगदाकर्ताको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत रकम आजीवन पाउँछन् । अविवाहित योगदानकर्ताको हकमा आश्रित बाबु या आमाले यो सुविधा पाउने व्यवस्था छ । त्यसबाहेक योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ २५ हजार रुपैयाँ आश्रित परिवारले पाउँछ ।

वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकास सुविधा योजना पर्छन् । निवृत्तिभर योजनामा योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण उपलब्ध हुन्छ । निवृत्तिभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा योगदानकर्ताको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउनेछन् ।

अवकास सुविधा योजना अन्य अवकाश कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुनेछ । योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा पनि जम्मा गर्न सक्ने व्यवस्था छ ।

सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिन्छ । रोजगारीको अन्त्य हुँदा वा अवकाश हुँदा यो योजनामा जम्मा भएको रकम योगदानकर्ताले प्रतिफलसहित भुक्तानी पाउँछ ।

योगदानकर्ताले यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउँछन् । साथै ३६ महिना योगदान गरेको योगदानकर्ताले सहुलियत ब्याजदरमा ७५ लाख रुपैयाँसम्म घर सापटी र ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटीसमेत प्राप्त गर्न सक्छन् । सापटी रकम धितोमा आधारित हुनेछ ।

यसबाहेक योगदानकर्ताका लागि कर छुटको सुविधा पनि छ । करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउनेछन् । कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर पनि छुट हुने व्यवस्था छ ।

कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान या श्रीमती र छोराछोरीले औषधोपचार सुविधा पाउने व्यवस्था छ । २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले २०८१ जेठ १७ देखि अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।

त्यसयता अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउँदै आएका छन् ।