• Menu

नागरिक लगानी कोषका साढे ३ लाख सहभागीलाई १ अर्ब ६६ करोड प्रतिफल वितरण, साउन १ देखि ब्याजदर परिवर्तन

नेपाल प्रफिट

२०८१ साउन २, बुधबार ०९:०७

नागरिक लगानी कोषका साढे ३ लाख सहभागीलाई १ अर्ब ६६ करोड प्रतिफल वितरण, साउन १ देखि ब्याजदर परिवर्तन

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीलाई नियमित ब्याजका अतिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।

आव  २०७९/८० को नाफाबाट तत्कालीन सहभागीलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइनेछ । यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

ब्याजदर परिवर्तन, कुन योजनाको कति ?

कोष सञ्चालक समितिको निर्णयअनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ । परिवर्तित ब्याजदरअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५ प्रतिशत कायम भएको छ ।

यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ । यसअघि यसको ब्याजदर ८.५ प्रतिशत थियो । नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत निर्धारण गरिएको छ ।

यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५, लगानीकर्ता अवकाश कोष योजनामा ५.५, नार्क बिमा कोषमा ६ र राष्ट्रसेवक जीवन बीमा कोषको ५.५ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कर्जाको ब्याजदरतर्फ शैक्षिक कर्जाको हकमा ८.५, आवाश कर्जामा ८.५, सरल कर्जामा ९ र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ । यसअघि शैक्षिक कर्जामा ९.५, आवाश कर्जामा ९, सरल कर्जामा ९.५ र सवारी कर्जामा ९.५ प्रतिशत ब्याजदर थियो । कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरावलोकन गर्ने गरेको छ ।