• Menu

निजी क्षेत्र प्रोत्साहित हुने नीति लिन्छौं : प्रधानमन्त्री, अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्छ : ढकाल

उद्योग वाणिज्य महासंघद्वारा आर्थिक सुधार आयोग गठनको माग

नेपाल प्रफिट

२०८१ साउन १, २२:२७

निजी क्षेत्र प्रोत्साहित हुने नीति लिन्छौं : प्रधानमन्त्री, अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्छ : ढकाल

काठमाडौं । निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना विकास सम्भव नहुने भएकाले उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन् ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा उनले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने आश्वासन दिए । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने भएकाले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।

भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको उनको भनाइ छ ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालले बताए ।

निजी क्षेत्रलाई मर्यादाक्रमा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने उनको सुझाव छ । उद्यम व्यवसाय सम्बद्ध नियामकीय निकायहरुले एक–आपसमा समन्वय बढाई लगानी प्रोत्साहन गर्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि धारणा राखे ।

उनले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिए । साथै, आर्थिक वर्षको सुरुमा नै नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको उनले बताए ।

अध्यक्ष ढकालले अहिले अर्थतन्त्र सम्बद्ध निकायहरुबीचमा समन्वयको अभाव रहेकाले अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्रको आवश्यकता औंल्याए ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रंकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताए ।

यसैगरी अध्यक्ष ढकालले सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तीय पहुँचका लागि विशेष पहल आवश्यक रहने सुझाव दिए ।

भेटमा सहभागी महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारले खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्ने बताए ।