काठमाडौं । असार १७ गते मध्यरातमा नेपाली कांग्रससँग सहकार्य गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार धराप पार्दै गर्दा अर्थमन्त्रीका रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको चर्चा सुरु भइसकेको थियो ।
अर्थतन्त्रका विषयमा जानकार राख्नेले उनलाई अर्थ मन्त्रालयमा बसेर गर्न खोजेका राम्रा कामका लागि सम्झिए भने सेयर लगानीकर्ताले नेप्सेको उकालो यात्रालाई लिएर सम्झिए । कारण, संयोग नै सही, यसअघि चार पटक अर्थमन्त्री बनेका पौडेललाई नेपालको सेयर बजारले हरेक पटक हरियो झण्डाले स्वागत गरेको छ । यसपटक पनि असार १७ यता आइतबारसम्ममा २२०.५ अंक उकालो लागेको छ ।
असार १७ देखिको चर्चाले असार ३१ गते सोमबार मुर्तरुप लियो । भलै, पौडेलले शपथ ग्रहण गर्दै रहँदा सेयर बजार भने राताम्य बन्यो ।
पौडेल पछिल्लो पटक २०७९ पुसमा लामो समय अर्थ मन्त्रालयको कुर्सीमा बस्न पाएनन् । प्रचण्डले एमालेसँगको कित्ता फेरेर कांग्रेससँग कुम जोडेपछि उनी बाहिरिनुपर्यो । त्यसअघि भने २०७८/७९ को बजेट उनले ल्याएका हुन् ।
त्यसबेला कोभिड १९ महामारीबाट विश्व अर्थतन्त्रसँगै छटपटाइरहेको नेपालको अर्थ व्यवस्थालाई लयमा ल्याउने गरी पौडेलले ल्याएको बजेटलाई धेरैले राम्रो मानेका थिए । महामारीबाट नागरिकको जीवन रक्षा गर्ने पहिलो दायित्व बोकेर ल्याइएको बजेटमा अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्न आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता दिने कार्यक्रमहरु राखिएका थिए ।
१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका उनले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब २७ करोड अर्थात् २२.७ प्रतिशत बजेट विनियोजन गरको थिए । बाँकी ३६.१ प्रतिशत बजेट वित्तीय व्यवस्था र वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको थियो ।
कोभिड १९ महामारी नियन्त्रण र नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७८ करोड बजेट विनियोजन गरेका थिए । कोभिडविरुद्धको भ्याक्सिनका लागि नै २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याउनुपरेको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना, बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी र शैक्षिक प्रमाणपत्र धितोमा अधिकतम ५ प्रतिशत ब्याजमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उनका त्यसबेलाका चर्चामा आएका कार्यक्रम हुन् ।
पौडेल पाँचौंपटक अर्थमन्त्री बनेका छन् । उनी पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ र चौथो पटक २०७९ पुसमा अर्थमन्त्री बनेका थिए ।
यसपटक निवर्तमान अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट उनले कार्यान्वयन गर्नुपर्नेछ । यतिखेर अर्थतन्त्रमा मन्दी छाएको छ । बाह्य सूचकमा सुधार भए पनि समष्टिगत माग घटेका कारण औद्योगिक उत्पादन क्षमताको ३०-४० प्रतिशत हाराहारीमा सीमित छ ।
रोजगारी बढ्न नसक्दा युवा पलायन बढ्दो छ । खाडी तथा मलेसियामा औसतभन्दा थोरै कमाइका लागि पनि बाध्यताले बाहिरिनेको संख्या निकै ठुलो छ । मुख्यतः अर्थतन्त्रको कमजोर पर्फर्मेन्सकै कारण बढेको निराशालाई आशामा बदल्न अर्थ मन्त्रालयले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।
यस्तो अवस्थामा नेकपा माओवादी केन्द्रसँगकै सहकार्य तोड्दै कांग्रेससँग बलियो गठबन्धन गरी बनाएको सरकार र अर्थमन्त्रीले समष्टिगत माग वृद्धि, उत्पादन वृद्धि र रोजगारीसँगै जनअपेक्षा पूरा गर्नुपर्नेछ । कोभिड संकटमा अर्थतन्त्रको नाडी छामेका अर्थमन्त्री पौडेललाई मन्दीमा गुज्रेको अर्थतन्त्र सम्हाल्ने चुनौती छ ।
यस्तो थियो उनले ल्याएको बजेट (संक्षेपमा) :