• Menu

कमला पुल मंसिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडक सीमाभित्रका अनधिकृत संरचना हटाइँदै

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार १२:०४

कमला पुल मंसिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडक सीमाभित्रका अनधिकृत संरचना हटाइँदै

धनुषा । तराई-मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा तथा घुम्ती पसल हटाउन थालेको हो । पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि हटाउने काम अघि बढाइएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण सडक निर्माण तथा विस्तारको काम प्रभावित भइरहेको छ । सडकसीमा क्षेत्र खाली गर्न नसक्दा केही स्थानमा सडक निर्माणकार्य अझै सुरु हुन सकेको छैन । आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यस्ता संरचना हटाइने उनले बताए ।

उक्त सडकखण्डको अधिकांश भाग कालोपत्र भइसकेको छ भने धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख महतोले जानकारी दिए ।

पुल सञ्चालनमा आएपछि उक्त सडकखण्डमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक सीमाभित्रका संरचना हटाउन थालिएको उनको भनाइ छ । मंसिरको पहिलो साता प्रधानमन्त्री वालेन्द्र साहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत भइरहेको उनले बताए ।

२०६८ सालमा कमला पुल निर्माणको ठेक्का पप्पु-लुम्बिनी जेभीले पाएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन । पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुंगाको सहारा लिनुपरेको थियो ।

पुल पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए । उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ । पुलको फाउन्डेसनसहित तीन वटा पिलरको सवलीकरण तथा सुपर स्ट्रक्चरको स्ल्याब ढलान कार्य अन्तिम चरणमा पुगेको छ ।

पुलका दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मंसिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६.४३ किलोमिटरमध्ये हालसम्म ३४७.६३ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटर सडकमध्ये २९.९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७.४६ किलोमिटर निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै, धनुषामा कुल ८९.५२ किलोमिटरमध्ये ७४.५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४.९४ किलोमिटर निर्माणाधीन छ ।

महोत्तरीमा कुल ९३.५ किलोमिटरमध्ये ९१.५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १.९४ किलोमिटर निर्माण हुन बाँकी छ ।

सर्लाहीमा कुल १६६.२ किलोमिटरमध्ये १५१.५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४.५१ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी रायले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक सीमाभित्रका घरटहरा हटाउन भएको ढिलाइ र विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए । बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ ।

हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न थालेको स्थानीय जनप्रतिनिधि तथा व्यवसायीले बताएका छन् । सडक निर्माणले गाउँ र बजारबीचको दूरी घटाउनुका साथै कृषिउपजको बजारीकरण, व्यापार व्यवसाय र जग्गाको मूल्यमा वृद्धि भएको उनीहरूको अनुभव छ ।

सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताका अनुसार हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले जिल्लाका आधा दर्जन स्थानीय तहको विकासमा योगदान पुर्‍याएको छ । सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीलाई आवागमन तथा दैनिक कामकाजमा सहज भएको उनले बताए ।

त्यस्तै, धनुषाको औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले हुलाकी राजमार्ग निर्माणसँगै आसपासका क्षेत्रमा जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको बताए ।

‘हुलाकी राजमार्ग बन्नुअघि प्रतिकठ्ठा २० लाखमा मुस्किलले बिक्री हुने जग्गा अहिले ६० देखि ७० लाखसम्ममा बिक्री हुन थालेको छ,’ उनले भने, ‘सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि जग्गाको मूल्य अझ बढ्ने अपेक्षा गरेका छौँ ।’

धनुषाको विदेह नगरपालिकाका व्यापारी अशोक साहका अनुसार पहिले सडक जीर्ण हुँदा गाउँबाट बजारसम्म आउन स्थानीयवासीलाई कठिनाइ हुने गरेको थियो । अहिले आवागमन सहज भएपछि गाउँका उपभोक्ता बजारसम्म पुगेर किनमेल गर्न थालेका छन् । ‘सडक निर्माणपछि गाउँ र बजारबीचको सम्बन्ध थप नजिकिएको छ । स्थानीयवासी सहज रूपमा बजार आउन थालेपछि व्यापार व्यवसाय पनि बढेको छ,’ उनले भने ।

हुलाकी सडक निर्माणले ग्रामीण बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै कृषि, पर्यटन, व्यापार तथा उद्योग व्यवसायको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । सडक निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने र समग्र मधेस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालले गरेको रेखांकन अनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर छ । मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माणको काम अघि बढेसँगै विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र क्रमशः यातायात सञ्जालमा जोडिँदै गएका छन् । रासस